SEE Result 2082

कृषि तथा वन विज्ञान विश्वविद्यालयमा ताला

कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुर चितवनमा गैर कानुनी प्रक्रियाबाट स्नातक तहको प्रवेश परीक्षा सञ्चालन गर्न लागिएको भन्दैं विद्यार्थीहरूले ताला लगाएका छन् ।

विश्वविद्यालयको मुख्यालय, कृषि संकाय लगायतका पदाधिकारी कार्यकक्षमा विभिन्न विद्यार्थी संगठनले ताला बन्दी गरेको हुन् ।

अनेरास्ववियु, नेवि संघ, अनेरास्ववियू क्रान्तिकारी र अनेरास्ववियू छैटौंले विश्वविद्यालयमा तालाबन्दी गरेका छन् ।

विश्वविद्यालय कृषि संकाय, डिनको कार्यालय, रामपुर चितवनले गत कार्तिक २९ गते प्रकाशन गरेको प्रवेश परीक्षाको अनलाइन आवेदन फाराम भर्ने सम्बन्धी सूचनामा आपत्ति जनाउँदै तालाबन्दी गरेका हुन् ।

दुई दिन अगाडि नै आफ्ना माग २४ घण्टा भित्र सुनुवाइ गर्ने चेतावनी मुलक विज्ञप्ति प्रकाशन गरेका विद्यार्थीले विश्वविद्यालयले माग पुरा नगरेको भन्दै ताला बन्दी गरेका हुन् ।

‘नयाँ पाठ्यक्रम जारी नगरी नयाँ पाठ्यक्रम अनुसार अध्यापन गरिने छ भनी आवेदन माग गर्नु, आवश्यक न्यूनतम शैक्षिक योग्यतामा कुल प्राप्ताङ्कको कम्तीमा ५० प्रतिशत अंकबाट घटाइ ४५ प्रतिशत र कुल प्राप्ताङ्क सीजीपीए २.४ बाट घटाइ २.२ बनाउनु, भर्ना शुल्क रु ४हजार चर्को र अवैज्ञानिक हुनु’ संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘प्रत्येक वर्ष प्रवेश परीक्षाको मुखमा आएर प्रवेश परीक्षाको विषयगत अंकभार परिवर्तन गर्नु ,स्नातक तहमा कृषि अध्ययन गर्न आवश्यक पर्ने अङ्ग्रेजी, केमिस्ट्री, बायोलोजी, गणित, फिसिक्स विषय अध्ययन नगरेको विद्यार्थी पनि भर्ना हुन पाउनु र अध्ययन नगरेमा सो विषय भर्ना भइसकेपछि अध्ययन गरे पनि हुने व्यवस्था गर्नु यी र यस्ता गतिविधिले कृषि तथा वन विज्ञान विश्वविद्यालयको इतिहासमा एकमात्र स्वच्छ रहेको स्रातक तहको प्रवेश परिक्षालाई धमिल्याउने काम भएको छ। साथै यसले समग्र विश्वविद्यालयको गरिमामा आँच आउने र विश्वविद्यालयबाट उत्पादन हुने विध्यार्थीको गुणस्तर माथि नै प्रश्न चिन्ह खडा गरेको छ ।’

 ‘उल्लेखित बुँदाहरू सम्बोधन नगरी भर्ना आवेदनका सम्पूर्ण कार्यहरू तत्कालै बन्द गर्न जोडदार माग गर्दछौँ। साथै परीक्षार्थीले प्रत्येक वर्ष बेहोर्दै आएको आर्थिक भार र विश्वविद्यालयको विभिन्न संकायमा भर्ना हुन पाई सिट रिक्त रहने समस्यालाई मध्यनजर गर्दै विश्वविद्यालयका सम्पूर्ण संकायको एउटै साझा प्रवेश परीक्षाको व्यवस्था गर्न पनि जोडदार माग गर्दछौं ।’ विज्ञप्तिमा भनिएको छ , ‘यदि २४ घण्टा भित्रमा हाम्रो माग सम्बोधन नभएमा हाम्रो जस्तोसुकै कदम चाल्न बाध्य हुने छौं र त्यसबाट हुने क्षतिको सम्पूर्ण जिम्मेवारी सम्बन्धित संकाय र विश्वविद्यालय स्वयं जिम्मेवार हुनेछ ।’

कृषि विश्वविद्यालयअन्तर्गत हाल कृषि, पशु, वन र माछा विज्ञान संकायका पढाइ हुन्छन् । त्यसका लागि देशभर ७ आङ्गिक र ७ सम्बन्धन प्राप्त कलेज छन् ।

+2 School
Counseling
Bachelors Portal