SEE Result 2082

विद्यार्थीद्वारा शिक्षकको निगरानी

कैलालीको टीकापुर नगरपालिका वडा नं. ३ स्थित हिमालय माध्यामिक विद्यालय घिया पुछरीका विद्यार्थीहरुले शिक्षकको निगरानी गर्न थालेका छन् ।

विद्यालयमा शिक्षकको नियमित उपस्थिति र कक्षा समय बढाउन विद्यार्थीले शिक्षकको निगरानी गर्न थालेका हुन् । विद्यार्थीहरुले शिक्षक कक्षामा प्रवेश गर्ने र बाहिर निस्कने समयको ‘रेकर्ड’ राख्न थालेका छन् ।

विद्यालय प्रशासनले शिक्षक पूरा समय कक्षामा बस्नै पर्ने गरी यो नियम लागू गरेर ‘रेकर्ड’ राख्ने जिम्मा विद्यार्थीलाई दिएको हो । विद्यालयले कक्षा लिडर (मनिटर) ले यो रेकर्ड राख्नुपर्ने जिम्मा दिनुका साथै मासिक विवरण राख्न लग बुक दिएको छ । विद्यालयमा गत शैक्षिक शत्रबाट यो अभ्यास थालिएको हो ।

कक्षा ८ का मनिटर नमूना पौडेल कक्षाकोठामा शिक्षक प्रवेश गरेपछि शिक्षक आएको गएको रेकर्ड राख्ने र महिना पुगेपछि प्रधानाध्यापकलाई बुझाउने गरेको बताए । ‘‘शुरुमा अप्ठ्यारो लागेको थियो, विद्यालयले हामीलाई लगबुक दिएको छ’उनले भने, ‘‘हरेक शिक्षक आएको र गएको समय लेख्छौँ ।’

शिक्षक कक्षाकोठामा प्रवेश गरेको  र बाहिरिएको समय लेख्ने गरिएको कक्षा ६ का मनिटर मनोज चौधरीले बताए । ‘‘हामीले महिनाभरिको रेकर्ड राख्छौँ र विद्यालयमा बुझाउने गछौँ’’, उनले भने, ‘‘शिक्षकको रेकर्ड राख्न थालेपछि विद्यार्थी पनि अनुशासित भएका छन् । हामी पनि कक्षा अवधिभर बाहिर निस्कदैनौँ ।’’

हिमालय मावि घियाका प्रधानाध्यापक बुद्धिराम चौधरी शिक्षकको कक्षाकोठामा नियमित उपस्थिति बढाउन विद्यार्थीले शिक्षकको रेकर्ड राख्न थालिएकोे जानकारी दिए । ‘‘केही शिक्षकहरु १० मिनेट ढिलो कक्षामा प्रवेश गर्ने, ५ मिनेट पहिल्यै कक्षा छोड्ने गरेको देखिन्थ्यो, यसैलाई रोक्न निगरानी गर्ने जिम्मा विद्यार्थीलाई दियौँ’’, उनले भने, ‘‘शुरुमा विद्यार्थीले निगरानी गर्ने भनेपछि केही शिक्षकले यस्तो शैली मन पराएका  थिएनन् । यसले शैक्षिक सुधारमा सघाउँछ । सबै शिक्षकलाई जिम्मेवार बनाउँछ भनेपछि शिक्षक साथीहरु तयार हुनुभयो ।’’

विद्यार्थीले शिक्षक कक्षा प्रवेश गरेको र निस्किएको रेकर्ड राख्न थालेपछि शिक्षकले जिम्मेवारी र अनुशासन पालना गरेको उनको भनाइ छ । ‘‘इमानदार शिक्षकलाई यस कार्यले खुशी दिएको छ । कक्षाकोठामा नियमित शिक्षण सिकाइ क्रियाकलाप पूरा गर्न शिक्षकले लापरवाही गर्न पाइदैन भन्ने हो’’, प्रधानाध्यापक चौधरीले भने, ‘‘४५ मिनेट पूरा विद्यार्थीलाई दिनुपर्छ भन्ने हो । समय ख्याल नगरे पठनपाठन र नियमित क्रियाकलापमा असर पार्छ ।’’ प्रधानाध्यापक चौधरीका अनुसार सुरुमा शिक्षकको मूल्याकंन विद्यार्थीले गर्ने भनी शिक्षकहरुलार्ई नरमाइलो लागेको थियो तर सकारात्मक पक्ष, समय पालना नियमित हुन्छ भनी लागू गर्दा, अहिले शैक्षिक सुधार भएको छ ।

+2 School
Counseling
Bachelors Portal