SEE Result 2082

शिक्षक विद्यार्थी अनुपात मिलाउनुपर्ने

काठमाडौंँ, २२ असोज (रासस) ः काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि सबै जुट्नुपर्ने बताउनुभएको छ ।  

 कामपा शिक्षा विभागले आज आयोजना गरेको महानगरको क्षेत्रभित्रका सामुदायिक शिक्षाको स्तरोन्नतिका लागि सुझाव सङ्कलन कार्यशालामा उहाँले भन्नुभयो, “सामुदायिक विद्यालय सबैको साझा हो, यो मन्त्रालय वा कामपा मात्रै दायित्व नभई अभिभावक, विद्यार्थी र सरोकारवाला सबैको साझा जिम्मेवारी हो ।” 

 उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगका सदस्य डा बाबुराम अधिकारीले महानगरपालिकाले सामुदायिक विद्यालयको स्तरोन्नतिका लागि निजी क्षेत्रले खोलेका शैक्षिक संस्थालाई अङ्कुश लगाउनेभन्दा पनि सामुदायिक विद्यालयको गुणस्तर सुधारमा जोड दिनुपर्ने बताउनुभयो । कामपाका शिक्षा अधिकारी सीताराम कोइरालाले शिक्षक विद्यार्थी अनुपात मिलाउनुपर्ने सुझाव दिँदै शिक्षकले कक्षाकोठामा शिक्षण सामग्रीसहित अध्यापन गराउने वातावरण बन्नेबित्तिकै सिकाइ प्रभावकारी हुने जिकिर गर्नुभयो ।  

 कामपा शहरी योजना आयोगका सदस्य सचिव सरोज बस्नेतले सामुदायिक विद्यालयको स्तरोन्नतिका लागि विद्यार्थी र शिक्षकको मनोबल उच्च राख्नुपर्ने तथा प्रशासनिक र भौतिक पूर्वाधार सुधार गर्नुपर्नेमा ध्यान दिन सुझाव दिनुभयो । 

कामपा वडा नं १६ का वडाध्यक्ष मुकुन्द रिजालले उच्च ओहदाका व्यक्तिले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनेबित्तिकै सामुदायिक विद्यालयको स्वतः स्तरोन्नति हुने जिकिर गर्नुभयो ।  हाल कामपामा सय सार्वजनिक र करीब ७०० निजी विद्यालय सञ्चालनमा छन् । तिनमा करीब एक लाख ६५ हजार विद्यार्थी अध्ययन गर्दै आएकामा करीब ३८ हजार सामुदायिक विद्यालयमा अध्ययन गर्छन् । 

+2 School
Counseling
Bachelors Portal