SEE Result 2082

समाजलाई अनुशासित बनाउने दायित्व शिक्षकको काँधमा : सभामुख कृष्णबहादुर महरा

काठमाडौँ, ३० भदौ (रासस) ः सभामुख कृष्णबहादुर महराले राजनीतिक परिवर्तनमा शिक्षक सङ्घसङ्गठनको ठूलो भूमिका रहेको बताउनुभएको छ । एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनले आज यहाँ आयोजना गरेको सम्मान तथा छात्रा प्रतिभा पहिचान लोक नृत्य कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “शिक्षामार्फत समाज रुपान्तरण गर्न हामी शिक्षकहरुले निकै ठूलो भूमिका खलेका छौँ । सामन्तवाद र सामन्तवादी शिक्षाका विरुद्धमा आम जागरण ल्याउन तथा राजनीतिक परिवर्तन सम्भव तुल्याउन शिक्षकको योगदान अमूल्य छ ।”  

 जनक्रान्तिबाट मुलुकमा ठूलो परिवर्तन आएको उल्लेख गर्दै सभामुख महराले परिवर्तित समाजलाई व्यवस्थित र अनुसाशित बनाउने दायित्व सबैको काँधमा आएको बताउनुभयो । शिक्षकले व्यावहारिक र वैज्ञानिक शिक्षा दिएर समाजलाई सुसूचित र सभ्य बनाउनुपर्ने उहाँको भनाइ थियो ।  सरकारले मुलुक समृद्धिको यात्रा शुरु गरेको बताउँदै सभामुख महराले मुलुकले खोजेको आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न सबैले योगदान गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । 

“समृद्धिको आधारभूत तत्व शिक्षा हो । जनतालाई शिक्षित र सुसूचित बनाउँदै हामी जति अघि बढ्यौँ त्यति नै समाज समृद्ध हुन्छ ।” शिक्षालाई आधाभूत रुपले मौलिक हकका विषय बनाउँदै राज्यको दायित्वभित्र पार्नुपर्ने उहाँले औँल्याउनुभयो ।  

 कार्यक्रममा शिक्षा क्षेत्रमा योगदान पु¥याउने हुने ख्यातिप्राप्त व्यक्तित्व एवं पूर्वशिक्षामन्त्री डा गङ्गालाल तुलाधर र डिआर पौडेल, पूर्वमन्त्री अग्नि सापकोटा, नेपाल शिक्षक महासङ्घका अध्यक्ष बाबुराम थापा, सचिव झङ्क चौलागाईं र एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन ३ नं प्रदेशका महासचिव भीम पोखरलाई सम्मान गरिएको थियो ।  

 त्यस्तै काठमाडौँका उत्कृष्ट १२ सामुदायिक विद्यालय र चार संस्थागत विद्यालय, उत्कृष्ट कार्यसम्पादन गर्ने ११ प्रधानाध्यापक र २५ जना शिक्षकलाई सम्मान गरिएको थियो । सो अवसरमा आयोजित छात्रा लोकनृत्य प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने जनपथ मावि कलङ्की, दोस्रो जनकल्याण मावि चाबहिल र तेस्रो जनसेवा मावि कीर्तिपुरलाई पनि सम्मान गरिएको थियो । 

एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनले शनिबार काठमाडाँैमा आयोजना गरेको ‘सम्मान तथा छात्रा प्रतिभा पहिचान लोक नृत्य कार्यक्रम’लाई सम्बोधन गर्दै सभामुख कृष्णबहादुर महरा । तस्बिर :अशोक घिमिरे÷रासस

+2 School
Counseling
Bachelors Portal