SEE Result 2082

बाढी प्रभावित विद्यालयमा तत्काल अस्थायी सिकाइ केन्द्रको व्यवस्था गरिने

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले बाढी प्रभावित विद्यालयमा तत्काल अस्थायी सिकाइ केन्द्रको व्यवस्था गर्ने बताएकी छिन् । उनले आज ललितपुरका बाढी प्रभावित विद्यालयको अवलोकनपछि  अभिभावक र विद्यार्थीलाई मनोपरामर्श दिने र विद्यार्थीको सिकाइलाई निरन्तरता दिन सबैले सहयोग गर्नुपर्ने बताइन् ।

उनले पाठ्यपुस्तक क्षति भएका विद्यार्थीलाई स्थानीय तहमार्फत पाठ्यपुस्तक उपलब्ध गराइने र दीर्घकालीन रूपमा विपत् प्रतिरोधी जग्गामा मापदण्डअनुसारको भवन बनाउन स्थानीय तह, विद्यालय व्यवस्थापन समिति र सरोकारवालाको चासो रहनुपर्ने बताइन् । यसका लागि मन्त्रालयले आवश्यक पहल गर्ने बताइन् ।

गत असोज ११ र १२ गतेको अविरल वर्षाबाट क्षति पुगेका  विद्यालयमा  स्थलगत निरीक्षण गरेकी हुन् ।

बाढीले कोन्जोस्योम गाउँपालिकाको ज्ञानज्योति आधारभूत विद्यालय सिलिङ्गे बेंसीको चारओटा भवन ठोस्ने खोलाले बगाई पूर्ण क्षति पुगेको थियो ।

यसैगरी गोदावरी नगरपालिकाको बुद्ध माध्यमिक विद्यालय टीकाभैरवमा बाढी पसी लेदोले पहिलो तला पुरेको, खोलाको किनारमा रहेको पाँचओटा कोठा र कम्पाउन्ड वाल पूर्ण क्षति भएको थियो ।

वागेश्वरी आधारभूत विद्यालय चापागाउँमा माथिबाट पहिरो आई मोटरबाटो समेत विद्यालयमा खस्दा दुई तले भवनका छ ओटा कोठा पूर्ण रूपमा क्षति भएका छन्  भने शैक्षिक सामग्री समेत काम नलाग्ने भएका छन् ।

महालक्ष्मी नगरपालिकाको गम्भीर समुद्र सेतु माध्यमिक विद्यालयमा बाढी बस्दा पहिलो तला डुबानमा परी विद्यालयका अभिलेख, शिक्षण सिकाइ सामग्री, कम्प्युटर ल्याब पूर्णरूपमा क्षतिग्रस्त बनेका छन् । विद्यालयको कम्पाउन्ड वाल भत्किएको छ ।

निरीक्षणमा सांसदद्वय उदय समशेर राणा र प्रेम महर्जन, बाग्मती प्रदेशका युवा तथा खेलकुद मन्त्री, बाग्मती प्रदेश सभाका सांसद्, सम्बन्धित स्थानीय तहका प्रमुख, उपप्रमुख, शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक तथा शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख लगायतको संलग्नता रहेको थियो ।

 

 

+2 School
Counseling
Bachelors Portal