SEE Result 2082

तीन बुधे सहमतिपछि ४३ दिनमा प्रतिष्ठानको ताला खुल्यो

कर्मचारी कल्याणकारी समाजले गत असोज २८ गतेदेखि तालाबन्दी गरेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको केन्द्रीय तथा शैक्षिक प्रशासनमा गरिएको तालातीन बुधे सहमतिपछि आज खुलेको छ ।

डीन नियुक्ति सम्बन्धमा छानविन समिति गठन गर्ने, ललितपुरको महालक्ष्मी स्थानमा रहेको प्रतिष्ठानको सम्पर्क कार्यालय यथाशीघ्र हटाउने र एक डीन प्रमुख रहने, अन्य सङ्कायका डीन सहायक डीन रहने सहमति पछि ताला खुलेको हो ।

आज प्रतिष्ठान कल्याणकारी समाज र उपकुलपति प्राडा राजेन्द्रराज वाग्ले सहितको पदाधिकारीको टोलीका बिच भएको छलफलमा समाजले माग गरेका तीन मुख्य बुँदामा सहमति भएपछि ताला खुलेको समाजका अध्यक्ष रमाकान्त उपाध्यायले जानकारी दिए ।

आज भएको सहमति अनुसार तीनै जना डीन नियुक्त छानविन गर्न तीन सदस्यीय कार्यदल गठन गर्ने र त्यसले पेश गरेको प्रतिवेदन कार्यकारी परिषद्मा पेश गर्ने सहमति भएको छ ।

त्यसैगरी प्रतिष्ठानको कार्यकारी परिषद्ले आगामी सिनेट बैठकमा निर्णय गराई एक डीन प्रमुख रहने, अन्य सङ्कायका डीन सहायक डीन रहने र प्रतिष्ठानमा कार्यरत कुनै पनि कर्मचारीले बाहिर काम गर्न र दोहोरो सुविधा भोग गर्न नपाउने गरी सहमति भएको समाजका अध्यक्ष उपाध्यायले बताए ।

प्रतिष्ठानमा तेस्रो डीनका रुपमा मुनिराम क्षेत्रीलाई गरिएको नियुक्ति अवैधानिक हुनुका साथै आर्थिक भार मात्र थप्ने भन्दै समाजले गरेको तालाबन्दी सहमतिपछि खुलेको हो ।

क्षेत्री अघि नै प्रतिष्ठानमा दुई डीन नियुक्ति भइसकेपछि कार्यकारी परिषद्संग परामर्श नै नगरी एकलौटी रुपमा प्रतिष्ठान सम्पर्क कार्यालयबाटै तेस्रो डीन नियुक्त गर्नु प्रतिष्ठानमाथि भएको षडयन्त्र भएको हुनाले यसलाई खारेज गर्न माग गर्दै समाजले तालाबन्दी गरेको थियो ।

प्रतिष्ठानको सम्पर्क कार्यालय यथाशीघ्र हटाउने र त्यहाँ कार्यरत कर्मचारीलाई एक हप्ताभित्र प्रतिष्ठानको केन्द्रीय कार्यालय जुम्ला बोलाउने सहमति भएको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले बताए ।

काफ्लेका अनुसार सम्पूर्ण पदाधिकारी विशेष कामबाहेक पूरा समय प्रतिष्ठानको केन्द्रीय कार्यालय जुम्लामा बस्ने सहमति भएको छ ।

यसका साथै समाजले राखेका छ वटै मागका सम्बन्धमा कार्यकारी परिषद्बाट हुबहु पारित गर्ने सहमति भएको प्रतिष्ठानले जानकारी दियो ।

+2 School
Counseling
Bachelors Portal