SEE Result 2082

त्रिविको ताला खोल्न महाशाखा प्रमुखको अपिल

त्रिभुवन विश्वविद्यालयका १३ ओटा महाशाखा प्रमुखले त्रिविको प्रशासनिक कार्य सहजताकालागि तालाबन्दीको निकास खोज्न अपिल गरेका छन् ।

निरन्तरको तालाबन्दीका कारण शिक्षक, कर्मचारीहरूको न्यूनतम अधिकार कुण्ठित हुँदै गएको, बिना तलब असारदेखि शिक्षक कर्मचारीले काम गर्नु परेको भन्दै विश्वविद्यालयका विभिन्न निकायमा लगाइएको ताला तत्काल खोल्न अपिल गरेका हुन्।

महाशाखा प्रमुखहरूले आज संयुक्तविज्ञप्ति प्रकाशित गर्दै ‘निरन्तरको तालाबन्दीका कारण शिक्षक, कर्मचारीहरूको न्यूनतम नैसर्गिक अधिकार कुण्ठित हुँदै गएको, आर्थिक एवम् दैनिक प्रशासनिक कार्यहरू सहज रूपमा सञ्चालन गर्न कठिनाइ भइरहेको अवस्थाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। अतः त्रिवि केन्द्रीय कार्यालय लगायतका निकायहरूमा लगाइएका ताला यथाशीघ्र खोली आर्थिक तथा प्रशासनिक कार्यहरू अघि बढाउन सम्बन्धित पक्षसँग जोडदार माग गर्दछौँ’ भनेका छन् ।

राष्ट्रको गहनाका रूपमा रहेको विश्वविद्यालयलाई थप धराशयी हुनबाट रोक्न, विश्वविद्यालयलाई इतिहासको पानामा मात्र सीमित हुनबाट जोगाउन सम्बन्धित सबै सरोकारवालाहरूको ध्यानाकर्षण गराएका छन् ।

विश्वविद्यालयमा हाल उत्पन्न असहज परिस्थिति अन्त्य गरी शैक्षिक अन्त्य गरी शैक्षिक, आर्थिक एव् प्रशासनिक कार्यहरू सहज रूपमा सञ्चालन गर्न वार्ताका माध्यमबाट समस्याको दिगो समाधान गर्न विज्ञप्ति मार्फत आग्रह गरेका छन् ।

‘विश्वविद्यालयलाई सदाका लागि शान्ति क्षेत्रका रूपमा विकास गर्न विश्वविद्यालयसँग सम्बन्धित जिम्मेवार विद्यार्थी संगठन, प्राध्यापक संघ, कर्मचारी संघ, नागरिक समाज, पत्रकार एवम् सम्बन्धित सरोकारवालाहरूलाई आवश्यक पहल गरिदिनु हुन हार्दिक अपिल गर्दछौँ।’ विज्ञप्तिमा भनिएको छ, ‘तालाबन्दीका कारण शिक्षक कर्मचारीको २०७९ असारदेखिको तलबभत्ता रोकिएको, निवृत्त शिक्षक एवम् कर्मचारीहरूले पेन्सन पाउन नसकेको, निवृत्त भएका शिक्षक तथा कर्मचारीहरूको निवृत्तभरण तथा उपदान प्रक्रिया अघि बढ्न नसकेको, विद्यार्थी तथा अन्य सेवाग्राहीहरूले सेवा पाउन सकेका छैनन् ।’

त्रिवि आर्थिक प्रशासन महाशाखा प्रमुख कुमारप्रसाद हुमागाईं, सामान्य प्रशासन महाशाखा प्रमुख राजुकुमार श्रेष्ठ, त्रिवि केन्द्रीय पुस्तकालय प्रमुख पूर्णलाल श्रेष्ठ, त्रिविका प्रमुख कानुनी सल्लाहकार नारायणप्रसाद खनाल र त्रिवि लेखा परीक्षण महाशाखा प्रमुख पुष्पनारायण श्रेष्ठ छन्।

विज्ञप्तिमा हस्ताक्षर गर्ने अन्यमा शिक्षाध्यक्षको कार्यालय प्रमुख निर्मल मिश्र, रजिस्ट्रारको कार्यालय प्रमुख नवीन्द्रप्रसाद भण्डारी, प्राज्ञिक परिषद्को कार्यालयकी निमित्त प्रमुख निर्मला भण्डारी र त्रिवि समन्वय महाशाखाका निमित्त प्रमुख दीपक तिवारी छन्।

त्यस्तै विज्ञप्तिमा त्रिवि छापाखाना प्रमुख मानबहादुर श्रेष्ठ, त्रिवि सेवा आयोग कार्यालयका प्रमुख केदारनाथ ढकाल, सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख योगेन्द्रप्रसाद दाहाल, त्रिवि कर्मचारी प्रशासन महाशाखा प्रमुख विष्णुप्रसाद अर्यालले हस्ताक्षर गरेका छन्।

+2 School
Counseling
Bachelors Portal