SEE Result 2082

आयोगले केन्द्रसँग माग्यो थप शिक्षक पद सङ्ख्या

शिक्षक सेवा आयोगले शिक्षा तथा मानव स्रोत विकास केन्द्रसँग रिक्त रहेका शिक्षक पदको सङ्ख्या माग गरेको छ । 

रिक्त भएका शिक्षक पद सङ्ख्या प्राप्त भएमा यसै पटकको विज्ञापनमा थप गर्न सो माग गरिएको हो । 

आयोगका प्रशासकीय प्रमुख केशव दाहालले केन्द्रसँग रिक्त हुन पुगेका शिक्षक पद सङ्ख्या माग गरिएको जानकारी दिँदै भने, “यही पुस २१ गतेभित्र शिक्षक पदको थप सङ्ख्या प्राप्त भएमा यसै पटकको विज्ञापनमा थप गरेर पुनः माग गरिदिने छौँ । त्यसका लागि केन्द्रको क्रियाशीलता र चासोमा भर पर्छ ।”

आयोगले गत साता माध्यमिक तहको एक हजार ५४७ पद सङ्ख्याका लागि खुला विज्ञापन गरेको छ । अब एक साताभित्र निम्न माध्यमिक र त्यसको एक सातापछि प्राथमिक तहको विज्ञापन आह्वान गर्ने आयोगको तयारी छ । आयोगले यही पुस २१ गतेभित्र सबै तहमा विज्ञापन आह्वान गरिसक्ने छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपसचिव बसन्त कोइरालाले सिन्धुपाल्चोकले रिक्त पद सङ्ख्या पठाउने मौखिक जानकारी दिएको तर हालसम्म लिखित रुपमा उपलब्ध नभएको बताउँदै भने, “जिल्लाहरुले पठाएकै दिनमा हामी आयोगलाई विवरण पठाइदिनेछौँ । त्यसैले जिल्लाहरुले चासो देखाउनुपर्छ ।”

यसैबीच शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आज आयोगका पदाधिकारीसँग छलफल गरेका छन् । छलफलका लागि उनी सानोठिमीस्थित आयोग कार्यालयमा नै पुगेका थिए ।मन्त्री पौडेलले अब निमावि र प्राविको विज्ञापन पनि छिटो आह्वान गर्ने निर्देशन दिएका थिए । आयोगका पदाधिकारीले यसै साता निम्न माध्यमिक तहमा रिक्त दुई हजार ५९८ पदका लागि विज्ञापन गर्ने तयारी भइरहेको जानकारी दिएका थिए ।

+2 School
Counseling
Bachelors Portal