SEE Result 2082

कोशी प्रदेशमा छात्राभन्दा छात्र धेरै

शैक्षिक सत्र २०७९ मा कोशी प्रदेशमा छात्राभन्दा धेरै छात्र पाइएका छन् । प्रदेशका कुल विद्यार्थी संख्या ११ लाख  ४५ हजार ६५८ जना मध्ये ४९ प्रतिशत छात्रा र ५१ प्रतिशत छात्र पाइएको हो ।

प्रदेशको आर्थिक सर्वेक्षण २०७९–८० अनुसार, देशको कुल विद्यार्थी संख्या ७२ लाख ६९ हजार ५५१ मध्ये १५.८ प्रतिशत विद्यार्थी यो प्रदेशका रहेका छन् ।

कोशी प्रदेशमा कुल साक्षर जनसङ्ख्या ३६ लाख ३९ हजार ५ सय ४७ मध्ये २८.२ प्रतिशतले प्राथमिक तह (कक्षा १ देखि ५ सम्म) उत्तीर्ण गरेका छन्। निम्न माध्यमिक तह (कक्षा ६ देखि ८ सम्म उत्तीर्ण गर्ने व्यक्तिहरु २०.१  प्रतिशत र एसएलसी वा सोसरह उत्तीर्ण गर्ने कुल साक्षर जनसङ्ख्याको ११.३ प्रतिशत रहेका छन्।

कोशी प्रदेशमा स्नातक तह उत्तीर्ण गर्नेको सङ्ख्या १ लाख २५ हजार ४८२ अर्थात कुल साक्षर जनसङ्ख्याको ३.४ प्रतिशत छन् भने स्नातकोत्तर तह उत्तीर्ण गर्नेको सङ्ख्या ५२ हजार ७० अर्थात कुल साक्षर जनसङ्ख्याको १.४ प्रतिशत रहेको छ ।

प्रदेशमा आधारभूत तह (कक्षा १–५) को खुद भर्ना दर ९६.८ रहेको छ भने आधारभूत तह (कक्षा ६–८) को खुद भर्ना दर ९४.३ रहेको छ । त्यसैगरी माध्यमिक तह (कक्षा ९–१२) को खुद भर्ना दर ५५.२ रहेको छ । देशको यस्तो दर क्रमशः ९७.१, ९४.४, र ५७.४प्रतिशत रहेको छ ।

 मनमोहन प्राविधिक विश्वविद्यालय

 मनमोहन प्राविधिक विश्वविद्यालय आङ्गिक शिक्षालयका रुपमा मनमोहन स्मृति पोलिटेक्निक रहेको छ । यस पोलिटेक्निकमा ईञ्जिनियरिङ्गका सात वटा विषयको डिप्लोमा तहमा सात सय बढी विद्यार्थीहरू अध्ययनरत छन् ।

शैक्षिक सत्र २०६५–०६६ देखि २०७९ चैत्र सम्ममा यस पोलिटेक्निकबाट डिप्लोमा तहका २ हजार भन्दा बढी प्राविधिक जनशक्ति उत्पादन भइसकेका छन् भने लामो तथा छोटो अवधिका पेशागत एवम् जीवन निर्वाह तालिमबाट ६ हजार भन्दा बढी जनशक्ति उत्पादन भएका छन् ।

मनमोहन प्राविधिक विश्वविद्यालयमा तीन वटा संकायहरू स्कूलहरू-ईञ्जिनियरिङ्ग, मेडिसिन एण्ड एलाइड हेल्थ साइन्सेज र साइन्स एण्ड टेक्नोलोजी अन्तर्गतका विभिन्न विषयमा स्नातक, स्नातकोत्तर एवम् विद्यावारिधि तह सम्मका शैक्षिक कार्यक्रमहरू सञ्चालन हुने व्यवस्था गरिएको छ । हाल स्कूल अफ ईञ्जिनियरिङ्गको स्नातक तह (बी ई) को सिभिल ईञ्जिनियरिङ्गमा ६९ जना तथा ईलेक्ट्रिकल एण्ड ईलेक्ट्रोनिक्स ईञ्जिनियरिङ्गमा २८ जना विद्यार्थीहरू अध्ययनरत छन्।

स्कूल अफ मेडिसिन एण्ड एलाइड हेल्थ साइन्सेजको स्नातक तह (ब्याचलर इन फार्मेसी) मा ९ जना विद्यार्थीहरू अध्ययनरत छन् ।  यी स्कूल अन्तर्गतका स्नातक र स्नातकोत्तर तहका अन्य शैक्षिक कार्यक्रमहरूको समेत पाठ्यक्रम निर्माण गरी पठनपाठनका लागि आवश्यक तयारी भईरहेको  सर्वेक्षणमा उल्ले छ ।

+2 School
Counseling
Bachelors Portal