SEE Result 2082

नेपालको शिक्षा प्रणाली कस्तो बनाउने भनेर बहस जरुरी छः मन्त्री भट्टराई

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले देशको राजनीति कस्तो हुने भन्ने विषय शिक्षा र चेतनामा निर्भर हुने भएकाले अब शिक्षा प्रणालीबारे बहस हुन जरुरी रहेको बताएकीछिन् ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिकाले सुरु गरेको ‘हाम्रो खुसी पाठ्यक्रम’ शुभारम्भ कार्यक्रममा आज उनले हालसम्म राजनीति कस्तो हुने भन्ने विषयमै बहसमा केन्द्रित हुने गरेको भन्दै अब शिक्षाका बारेमा पनि गम्भीर बहस चलाउनुपर्ने आवश्यकता औँल्याइन् । “हामीले लामो समयसम्म राजनीति कस्तो हुने भनेर बहस, सङ्घर्ष र आन्दोलन ग¥यौँ तर शिक्षा कस्तो बनाउने भनेर कमै ग¥यौँ । त्यसैले अब शिक्षा कस्तो बनाउने भन्ने बहस हुन जरुरी छ”, मन्त्री भट्टराईले भनिन् ।

उनले समाजको नेतृत्व तथा संस्कृति निर्माणमा शिक्षा र चेतनाले महत्वपूर्ण भूमिका खेल्ने भएकाले यस क्षेत्रको विकासका लागि सबै गम्भीर बन्नुपर्नेमा जोड दिइन् । “राजनीतिले नीतिगत नेतृत्व गरे पनि समाजको नेतृत्व शिक्षा र संस्कृतिले गर्ने हो । त्यो संस्कृति र राजनीति कस्तो हुन्छ भन्ने कुराको व्याख्या पनि शिक्षाले नै गर्छ । त्यसैले हामी शिक्षाका बारेमा अलि बढी गम्भीर बन्न आवश्यक छ”, मन्त्री भट्टराईको भनाइ थियो ।  

उनले मध्यविन्दु नगरपालिकाले यो बहस उठान सुरु गरेकोमा धन्यवाद दिनुभयो । समाजमा विकासित हुँदै गरेको निराशा, असन्तोष अन्त्य गर्न खुसी दिन सक्नुपर्ने भन्दै मन्त्री भट्टराईले खुसी दिन सकिए मात्र समाजलाई परिवर्तनउन्मुख गर्न सकिने धारणा राखेकी थिइन् । यसका लागि ‘हाम्रो खुसी पाठ्यक्रम’ सुरु गरी नगरपालिकाले अनुकरणीय काम गरेको उनले बताइन् ।

नगरप्रमुख भीमलाल अधिकारीले बालबालिकाको सिकाइसँग जोडेर असल नागरिक उत्पादन गर्ने हेतुले नगरपालिकामा पाठ्यक्रम सुरु गरेको बताइन् । पाठ्यक्रम पालिकाभित्रका सबै सामुदायिक तथा संस्थागत गरी ६६ वटा विद्यालयमा कक्षा १ देखि ८ सम्म लागू हुनेछ । बालबालिकाको कल्याण, मानसिक स्वास्थ्य र समाजको दीर्घकालीन विकासलाई ध्यानमा राखेर पाठ्यक्रम लागू गरिएको नगरप्रमुख अधिकारीले बताइन् ।

+2 School
Counseling
Bachelors Portal