SEE Result 2082

निजी विद्यालय शैक्षिक गुठीमा  जान नसक्ने

निजी विद्यालयहरूलाई  शैक्षिक गुठीमा लैजान नसकिने विद्यालय सञ्चालकहरूले बताएका छन् आज  प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले आयोजना गरेको छलफलमा आफ्नो धारणा राख्दै सञ्चालकहरूले लगानी डुब्ने र समस्या सिर्जना हुने भन्दै  गुठीमा रुपान्तरण गर्न नसकिने बताएका छन् ।

बैठकमा बोल्दै उच्च माध्यमिक विद्यालय संघ, नेपाल (हिसान) का अध्यक्ष रमेश सिलवालले संविधानले समेत शैक्षिक गुठीको परिकल्पना नगरेको भन्दै आफूहरू गुठीमा जान नसक्ने बताए । उनले भने, ‘हाम्रो संविधानले शैक्षिक गुठीको परिकल्पना गरेको छैन । प्रश्न उठ्छ, आजको शिक्षालाई अनिवार्य र निःशुल्क बनाउने अब हामीले आम विद्यार्थीहरूलाई हो कि ? तिर्न सक्नेलाई उनीहरूले तिरेर गर्ने, तिर्न नसक्नेहरूलाई सुविधा बढाउने । यो माननीयज्यूहरूले फैसला गर्नुपर्ने विषय यहाँहरूको हातमा आइपुगेको छ । त्यसै गरी, माध्यमिक तहको शिक्षा निःशुल्क र आधारभूत तहसम्म अनिवार्य गर्ने प्रावधान सार्वजनिक वा सामुदायिक विद्यालयको हकमा हो कि, निजीकोमा पनि आकर्षित हुन्छ ? हरेक व्यक्ति वा विद्यार्थी इकाई हो र विद्यालय रोज्ने अधिकार हो भन्ने मान्यता राख्ने हो कि ? राज्यले प्रतिविद्यार्थी लागत अनुरूप भौचर प्रणाली लागू गर्ने हो ? यो फैसला गर्नुपर्नेछ ।’

अध्यक्ष सिलवालले सांसदहरूको छोराछोरी समेत निजी विद्यालयमा पढिरहेका भन्दै निजी विद्यालयहरूको विरोधमा बोल्नेहरूमाथि समेत प्रश्न उठाए । उनले क्रान्तिकारी कुरा गर्नेका छोराछोरी नै निजी विद्यालयमा पढिरहेको रेकर्ड आफूहरूसँग रहेको उल्लेख गरे ।

उनले भने – ‘माननीयज्यूहरूको छोराछोरी कहाँ पढ्छन् त त्यति हेरे पुग्छ नि । अरू धेरै जानै पर्दैन । कति स्वदेशमा पढ्नुहुन्छ ? कति क्रान्तिकारी कुरा गर्नेका छोराछोरी कहाँ–कहाँ छन् ? त्यो रेकर्ड त हामीसँग पनि त छ नि । त्यसो हो भने यहाँहरूले गरेर देखाऔँ न । सरकारी स्कुल राम्रो बनाऔँ ।’

प्याब्सनका निःवर्तमान अध्यक्ष टिकाराम पुरीले निजी विद्यालयहरू गुठीमा जान नसक्ने बताए । उनले गुठीमा जाँदा आफूहरूको लगानीलाई व्यवस्थापन गर्न नसक्ने बताए । उनले गुठीमै गए पनि सरकारले निःशुल्क शिक्षा दिन नसक्ने भन्दै गुठीको कुरा गरेर आफूहरूको लगानी डुबाउने कुरा मात्रै भएको बताए । उनले निजी विद्यालयहरूलाई गुठीमा लगेमा आफूहरू आन्दोलित हुने चेतावनी दिए ।

बैठकमा बोल्दै राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन)का अध्यक्ष पाण्डव हमालले कक्षा १० मा परीक्षा जरुरी रहेको बताए ।

सो छलफलमा  निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का अध्यक्ष डिके ढुंगानाले निजी विद्यालयहरूलाई स्वायत्तता दिनुपर्ने बताए । उनले पाठ्यक्रम, परीक्षा र अनुगमन बाहेकका विषयहरूमा निजी विद्यालयहरूलाई स्वायत्तता दिनुपर्ने बताए ।

+2 School
Counseling
Bachelors Portal