SEE Result 2082

स्मार्ट कक्षा चलाउँदै वाल्मीकि विद्यापीठ

नयाँ भेरियन्ट सहितको कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी निषेधाज्ञाका बेला विद्युतीय कक्षामा सहभागी हुन नसक्ने प्राध्यापक एवं विद्यार्थीका लागि नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गतको वाल्मीकि विद्यापीठले स्मार्ट कक्षा निर्माण शुरु गरेको छ ।

पहिलो चरणको कोरोनाबाट बच्न २०७६ साल चैत ११ गते बन्दाबन्दी जारी गरिएदेखि नै विद्यापीठले विद्युतीय कक्षा शुरु गरेको थियो । विद्युतीय कक्षामा भौतिक कक्षामा भन्दा ४० प्रतिशत कम विद्यार्थी सहभागी भएपछि विद्यापीठमा स्मार्ट कक्षा निर्माण शुरु गरिएको प्राचार्य भागवत ढकालले जानकारी  दिए । विद्यापीठका ६० प्रतिशत विद्यार्थीले भने नियमितरुपमा विद्युतीय माध्यमबाट कक्षा लिइरहेका छन् ।

घरमा इन्टरनेट सुविधा नहुने प्राध्यापक एवं विद्यार्थीका लागि क्याम्पसमा उपकरणसहित स्मार्ट कक्षाको व्यवस्थाले सहयोग पुग्ने विश्वास गरिएको छ । विद्यापीठमा हाल शास्त्री र आचार्यको पठनपाठन हुन्छ । शास्त्रीमा १३ आधुनिक विषयसहित १७ संस्कृतका शास्त्रीय विषयमा पठनपाठन गरिन्छ ।

हाल विश्वविद्यालयले चारवर्षे शास्त्री कक्षा सञ्चालन गरिरहेको छ । आचार्यमा भने संस्कृतका १७ वटा शास्त्रीय विषयमा अध्यापन भइरहेको छ । संस्कृतमा शास्त्री (स्नातक) पढ्न चाहनेका लागि संस्कृत भाषा प्रशिक्षण प्राक्– शास्त्रीको समेत व्यवस्था गरिएको छ ।

हाल प्राक् शास्त्रीमा ४०० विद्यार्थी अध्ययन गरिरहेका छन् । यसैगरी विद्यापीठले कर्मकाण्ड प्रशिक्षण पनि दिइरहेको छ । कर्मकाण्ड प्रशिक्षणमा हाल ८६ विद्यार्थी रहेको प्राचार्य ढकालले जानकारी  दिए ।

 यसैगरी विद्यापीठले योग तथा प्राकृतिक चिकित्सा विषयका कार्यक्रम पनि सञ्चालन गरिरहेको छ । सबै तहमा गरी एक हजार विद्यार्थी विद्यापीठमा अध्ययन गरिरहेका छन् । विद्यापीठले सोमबार ७०औँ वार्षिकोत्सव जुम प्रविधिबाट नै मनाउन निर्णय गरेको छ । पूर्वसभामुख एवं नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा सोमबार अपराह्न ४ः०० बजे जुम प्रविधिबाट वार्षिकोत्सव मनाउने तयारी गरिएको छ ।

+2 School
Counseling
Bachelors Portal