SEE Result 2082

१२ को परीक्षामा एनजी आएका विद्यार्थीको प्रवेश परीक्षा शुल्क फिर्ता गरिने

चिकित्सा शिक्षा आयोगले स्नातक तहको एकीकृत प्रवेश परीक्षामा आवेदन दिएर एनजी आएका विद्यार्थीको आवेदन शुल्क फिर्ता गर्ने निर्णय गरेको छ ।

आयोगको आज बसेको कार्यकारी समितिको बैठकले आजको निर्णय अनुसार कक्षा १२ को नतिजामा एनजी आएका विद्यार्थीको आवेदन शुल्क फिर्ता गर्ने निर्णय गरेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशनमा आयोगले एनजी आएर आयोगको परीक्षा दिन नपाउने विद्यार्थीले तिरेको आवेदन शुल्क फिर्ता गर्ने निर्णय गरेको आयोगका सूचना अधिकारी सरिताकुमारी खतिवडाले बताइन् । ती बाहेक परीक्षामा अनुपस्थित हुने विद्यार्थीको भने पैसा फिर्ता नगरिने उनको भनाइ छ ।

भदौ १ गतेदेखि आयोगले लिने एकीकृत प्रवेश परीक्षामा आवेदन दिएर दिएका  करिब २३ सय विद्यार्थीको कक्षा १२ को नतिजामा एनजी आएको उनले जानकारी दिइन् । उनका अनुसार अब आयोगले करिब ४८ हजार विद्यार्थीको मात्र प्रवेश परीक्षा लिने छ । १२ को नतिजा एनजी आएका विद्यार्थीहरूले प्रवेश परीक्षा दिन नपाउने आयोगले जनाएको छ ।

त्यस्तै पुनर्योगका लागि आवेदन दिएका विद्यार्थीहरूले समेत उक्त परीक्षा दिन नपाउने आयागले जानकारी दियो ।

आयोगले प्रवेश परीक्षाका लागि आव्हान गरेको सूचनामा न्यूनतम २.४ जीपीए र कक्षा १२ उत्तीर्ण गरेको हुनुपर्ने उल्लेख छ ।

आयोगले भदौ १ गतेदेखि एकीकृत प्रवेश परीक्षाको मिति तय गरेको छ । सोही मितिमा परीक्षा सञ्चालन गरिने र त्यसको आवश्यक तयारी पुरा भइसकेको आयोगले जानकारी दियो ।

उक्त मितिमा परीक्षा नहुने भन्दै फेक समाचार प्रकाशन भइरहेका छन् । उक्त विषयमा आयोगले आफ्नो ध्यानाकर्षण भएको बताउँदै फेक समाचार प्रकाशन गर्ने विरुद्ध कानुनी कारवाहीका लागि प्रहरीलाई पत्राचार गर्न लागिएको आयोगका सदस्य सचिव कृष्णप्रसाद काप्रिले बताए  ।

+2 School
Counseling
Bachelors Portal